काठमाडौं / काठमाडौंमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बूढानीलकण्ठ नगरपालिका- १० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।
पक्राउ पर्नेमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका-११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र कञ्चनपुर भीमदत्त नगरपालिका घर भई कपन बस्ने २७ वर्षीय खगेश खत्री छन् ।
पासाङ छिरिङ शेर्पाबाट प्रहरीले ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो । उनको कोठामा तलासी लिँदा सो मात्रामा ब्राउनसुगर बरामद भएको एसपी मैनालीले बताए ।
गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले शेर्पालाई शंकास्पद रूपमा फेला पारेको थियो ।
उनीमाथि प्रहरीले सोधपुछ गर्दा सो ब्राउनसुगर खगेश खत्रीको भएको बताएका थिए ।
घटनाबारे महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।