काठमाडौँ / केही दिनको खराब मौसमका कारण हिमपात, वर्षासँगै चिसो बढेको थियो भने हिजो मौसम खुलेको थियो । तर आज पुनः मौसममा खराबी देखिएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केही भूभागमा भने हुस्सु र कुहिरो लागेकोले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने छ । देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो तुवाँलो लागेको छ । विगत दुई दिनदेखि बिहानैबाट घाम लागेको भए पनि आज घाम नलागेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।