बिर्तामोड / नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनमा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो ।

अनेरास्ववियुका कार्यकर्ताले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेका अनुसार नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ ।