झापा / लमजुङ राइनास नगरपालिका ६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ट्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी राइनास नगरपालिका ६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी घर फर्केका छन् ।
इँटा लिन जाँदै गरेको ट्याक्टर अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा छेउमा पुगेको थियो । सडक छेउमा पुग्ने क्रममा सडकबाट लडेर करिब १५ २० मिटर तल सिम्लेखोलामा खसेर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालक स्थानीय दीपक परियारलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवंम् इन्सपेक्टर जगदिश रेग्मीले बताए । मृतक चिलुवालको शवलाई पोस्टमार्टमका लागि बेसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।