काठमाडौँ / आइतबार बौद्धमा रहेको एउटा रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले दोलखाका सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार महामारीको संक्रमणलाई बेवास्ता गर्दै ठूलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका थिए । पक्राउ पर्नेमा ६ जना महिला र ६६ पुरुष थिए । उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।
घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट मुलुकी अपराध ऐन, २०७४ को परिच्छेद ५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।