काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भू भागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ ।