बिर्तामोड / झापा र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र २ जना घाईते भएका छन् । हिजो दिउसो १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडि पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलाले आफैले स्टार्ट गरी अगाडि बढाउने क्रममा ट्याक्टर मुनि खेली रहेकी उनकै २ वर्षीया छोरी आरुषी दुलाललाई किचि गम्भिर घाईते भएकी थिइन ।
घाईते बालिकाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो दिउसो पौने १ बजे मृत्यु भएको थियो । ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेका छन ।
यसै गरी हिजो बेलुका ८ बजे उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना हुँदा सवार ३ जना घाईते भएका थिए ।
घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० वर्षीय नितेश चौधरी बेलुका पौने ९ बजे जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको थियो । घाईते मृतककै बुबा ४० वर्षीय सत्य नारायण चौधरी र उनकै अर्का छोरा १२ वर्षीय निमिष चौधरीको सोही अस्पतालमानै उपचार भइरहेको छ । उनीहरूको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।