विराटनगर / मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएको अर्का एक युवकको शवको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।

गत माघ १३ गते उखुबारीमा रहेका दुई खाल्डो उत्खनन गर्दा फेला परेका दुई पुरुषको शवमध्ये एकजनाको पहिचान हुन सकेको थिएन । पहिचान हुन बाँकी रहेका अर्का पुरुष सप्तरीको शम्भुनाथ नगरपालिका ४ का शम्भु चौधरी भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जनार्दन जिसीले पहिचान खुलेका चौधरी पनि काठमाण्डौको क्षेत्रपाटीमा बसोबास गर्ने गरेको अनुशन्धानका क्रममा खुलेको बताएका छन् । उनले चौधरी पनि अर्का मृतक धरान ३ स्थायी ठेगाना भई काठमाण्डौको लोकन्थली बस्ने राजेन्द्र कुमार श्रेष्ठसँगै काठमाण्डौबाट श्रेष्ठसँगै विराटनगर आएको अनुशन्धानका क्रममा खुलेको जानकारी गराएका छन् ।

मृतक दुवै जना जग्गा कारोबार र ठेक्का पट्टा गर्ने काममा संलग्न रहेको अनुशन्धानका क्रममा पाईएको अनुशन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी गराएका छन् ।

श्रेष्ठ र चौधरी दुवैको शव करिव २५ मिटरको दुरीमा रहेका दुई खाल्डा उत्खनन गर्दा भेटिएको थियो । उनीहरुको हत्या विराटनगरमै गरियो अथवा अन्य स्थानमा गरेर यहाँ ल्याईयो भन्ने विषयमा अनुशन्धानमा अझै पनि केहि पनि खुल्न नसकको अनुशन्धानमा संलग्न प्रहरीले वताएका छन् ।

प्रहरीले मारिएका दुवैजना विराटनगर क्षेत्रमा केहि दिन रहेको आफन्तको बयानबाट खुलेकाले विराटनगरका होटलहरुको विवरण संकलन गरेर अनुशन्धानलाई जारी राखिएको प्रहरी स्रोतले बताएको छ ।