काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित खटिइरहेको समयमा मोबाइल साथमा राख्न रोक लगाइएको छ । 

अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरूको सङ्ख्या बढेको आरोप लाग्दै आएको छ ।

OM Sai Pathibhara Hospital

भिजिट भिसामा गएका नेपालीहरू अलपत्र पर्ने र दुःख पाउन थालेपछि विभागले सो निर्णय गरेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल फोन लकरमा राख्न निर्देशन दिइएको छ । 

आवश्यक परेमा ल्यान्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ । वरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसर (डीअ)लाई व्यक्तिगत मोबाइल प्रयोग भएनभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको छ । 

विशेष गरी खाडी र युरोपलगायतका मुलुकहरूमा भिजिट भिसामा गएका नेपाली नागरिकले दुःख पाउन थालेपछि यस समस्याको समाधान र उपायका सम्बन्धमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित समितिले आवश्यक अध्ययनपछि बुझाउने प्रतिवेदनका आधारमा भिजिट भिसामा कस्तो व्यक्तिलाई विदेश जान दिने र नदिने निर्क्योल हुने अपेक्षा गरिएको छ ।