झापा / खोटाङ घर भइ मोरङको सुन्दरहरैँचा नगरपालिकामा बस्दै आएकी ३१ वर्षीय महिला माथि भएको सामूहिक बलात्कारको घटनामा थप एक जना आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ३– का २५ वर्षीय राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।
पक्राउ परेका दर्जी पीडित भनिएका महिलाको पहिलादेखि समर्पक रहेको बुझिएको छ । सो घटनामा उनी पनि संलग्न भएको देखिएपछि प्रहरीले घटना भएको पाँच दिनपछि बिहीबार पक्राउ गरेको हो ।
यसअघि प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका –४ बलिया चौकका होटल सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरि सकेको छ ।
गत शुक्रबार साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै गरी महिलालाई तीन जनाले सुन्दरहरैचा ४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पुर्याएर सामूहिक बलात्कार गरेको आरोप छ ।
होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।