सोलुखुम्बु / सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनको सुरुङ भित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
बिहीबार बिहान पौने ४ बजे आयोजना निर्माणस्थल पञ्चनस्थित सुरुङभित्र पाइप लैजाने क्रममा एक्स्काभेटर भाँचिएर दुर्घटना भएको हो ।
सुरुङभित्र बेपत्ता हुनेमा बाराको कोल्हवी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेका छन् । उनको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका पर्साको पटेर्वा गाउँपालिका ४ का २० वर्षीय आंगत राय थारूलाई भने उपचारका लागि ओखलढुङ्गास्थित मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले जानकारी दिए ।
एक महिनाअघि सोही आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको थियो ।