झापा / १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पर्साबाट पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ ।
गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका –६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका पाँच जनालाई पक्राउ गरेको थियो । मन्टुको शव पुस २३ गते गाउँकै उखुबारीमा फेला परेको थियो ।
पक्राउ पर्नेमा सोही ठाउँका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनोमोहनप्रसाद यादव र २५ वर्षीय रोहणप्रसाद यादव छन् ।
पक्राउ परेकामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दातर्फ अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
मन्टुको परिवारबाट उनीहरूविरुद्ध दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थालेको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका –६ भीष्वास्थित नेपाल– भारत सीमाबाट पक्राउ गरेको हो ।
अभियुक्तमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।