काठमाडौँ / सरकारले कोरोना संक्रमण भएका कर्मचारीलाई दिइदै आएको बिदा कटौती गर्दै नयाँ व्यवस्था लागू गरेको छ । गत पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण भएका कर्मचारीका लागि नयाँ नियम लागू गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र गदै बिदा कटैतिको जानकारी दिएको छ । मन्त्रालयले पुस ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय कार्यान्वयनका लागि गरेको परिपत्रमा कोरोना संक्रमित भएका बिरामीले बढीमा सात दिन बिदा पाउने जनाइएको छ ।
निर्णयअनुसार अस्पताल भर्ना हुनुपरेको अवस्थामा डिस्चार्ज भएको मितिले तीन दिनसम्म मात्रै कर्मचारीले बिदा पाउने छन् । होम आइसोलेसनमा बसेकाले सात दिन र कन्ट्याक्ट ट्रेसिङ्मा परेकाको हकमा भने सम्बन्धित सुपरीवेक्षणको अनुमति लिई कोभिड –१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिन बिदा पाउने मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखा प्रमुख दशरथराम ओडले जानकारी दिए ।
दोहोर्याएर कोरोना संक्रमण भएका कर्मचारीको हकमा पनि यही नियम लागू हुने उनले बताए । ‘कोरोना संक्रमण पुष्टि भएको रिपोर्टको आधारमा कर्मचारीलाई जुनसुकै बेला पनि यही नियम लागू हुन्छ, एक चोटी मात्रै बिदा पाउने भन्ने छैन’ ओडले भने ।
यस अघिको नियममा कोरोना संक्रमित कर्मचारीले बढीमा १४ दिनसम्म बिदा पाउने व्यवस्था थियो । अहिले नेपालमा फैलिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को असर कम र संक्रमित व्यक्ति चाँडै निको हुने देखिएकाले नयाँ नियम लागू भएको ओड बताउँछन ।