इटहरी / सुनसरीस्थित तेस्रो बर्जू महोत्सवमा भएको घटनाको निष्कर्षसहितको प्रतिवेदन छानविन समितिले तयार पारको छ ।
छानविन समितिले तयार पारेको प्रतिवेदनमा उक्त घटनाको जिम्मेवार बर्जू सामुदायिक विकास केन्द्र भएकाले सम्पूर्ण क्षति महोत्सव आयोजक र प्रायोजकले बेहोर्नुपर्ने उल्लेख छ ।
तोडफोड भएको भारतीय कलाकार खेसरीलाल यादवको गाडी र मोटरसाइकल लगायत अन्य सामानको क्षतिपूर्ति आयोजकले नै व्यहोर्नुपर्ने छ ।
गत माघ ४ गते बर्जू महोत्सवमा तोडफोड भएको थियो । कार्यक्रममा भोजपुरी स्टार खेसरीलाल यादव नआएपछि दर्शकले कार्यक्रम स्थलमा विध्वंस मच्चाएका थिए । महोत्सवस्थलमै चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी समेत भएको थियो ।
उक्त घटनापछि जिल्ला सुरक्षा समिति र सर्वदलीय बैठकले सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । उक्त समितिलाई पाँच दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन भनिएको थियो ।
प्रतिवेदन अनुसार नेपाल प्रहरीको गाडीमा क्षति पुगेको छ । केही प्रहरी समेत घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयले महोत्सव रोक्न पटक पटक पत्राचार गरेको, प्रहरी घरमै पुगेर आग्रह गर्दा पनि आयोजकले जबरजस्ती गर्दा क्षति भएको निष्कर्ष छानविन समितिको छ।
बेचिएको टिकटको अर्धकट्टी देखाएमा त्यसको रकम, व्यापारीले मञ्चमा जोडेका सामानको क्षतिपूर्ति र इलाका प्रहरी कार्यालयको गाडीमा भएको क्षति र प्रहरी कर्मचारीको उपचार खर्च पनि बर्जु सामुदायिक केन्द्रले बेहोर्नुपर्ने निष्कर्ष समितिले निकालेको हो।