काठमाडौँ  / राष्ट्रिय मानव अधिकार आयोगले कोरोनाको नयाँ प्रजाति (ओमिक्रोन) को संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न आग्रह गरेको छ । 

आयोगले सोमबार सरकारी अधिकारीहरूबाट महामारी नियन्त्रणका लागि सरकारबाट भइरहेका प्रयास र तयारीबारे जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो ।

OM Sai Pathibhara Hospital

कोभिड –१९ को तेस्रो लहर नियन्त्रणका लागि सरकारको योजना, अस्पतालहरूको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दिइने खोपमा पहुँचबारेमा छलफल भएको छ । छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले यी विषय राखेका थिए ।

यसैगरी अत्यावश्यक वस्तुमा सर्वसाधारणको सहज पहुँच, औषधिको कृत्रिम अभाव हुन नदिन गरिनुपर्ने अनुगमन तथा कानुनी कारबाही, सर्वसाधारणको जानकारीका लागि प्रभावकारी र सही सूचना प्रवाहबारे जानकारी लिइएको आयोगले जनाएको छ ।