काठमाडौँ  / देशका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी आज (सोमबार) बाट सहिद सप्ताह सुरु गरिएको छ । 

देश र जनताको मुक्तिका लागि जीवन बलिदान गर्ने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको हो । 

OM Sai Pathibhara Hospital

सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । 

काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन् । 

२०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो ।

प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म सहिद सप्ताह मनाउने गरिएको छ । 

१३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएको थियो । १६ माघलाई सहिद दिवसको रुपमा मनाउने गरिएको छ ।