काठमाडौं / नेपाल नर्सिङ काउन्सिलले सूचना जारी गर्दै एक महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टि गरेको छ । लाइसेन्स जारी भएको साढे सात वर्षपछि लाइसेन्स नक्कली भएको पुष्टि भए लगत्तै कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको जनाएको हो ।
कागजपत्र अध्ययनका क्रममा काउन्सिलको लाइसेन्स पुनः दर्ताका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीले अरुको दर्ता नम्बर लिएको प्रमाणित भएको छ ।
काउन्सिल रजिष्ट्रार बिन्दा घिमिरेले आइतबार जारी गरेको सूचना अनुसार रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा लिएको लाइसेन्स नम्बर २६४६८ मार्च २०१४ मा अर्कैको नाममा जारी भइसकेको उल्लेख छ ।
पेश गरेको प्रमाणपत्र र दस्तखत समेत काउन्सिलको रेकर्डमा भएको भन्दा फरक देखिएको छ । काउन्सिलले रञ्जु दर्तावाल नर्स नभएको अर्थात् नक्कली नर्स भएको भन्दै सूचनामा जारी गरेको छ ।
चौधरीले पेस गरेको प्रमाणपत्र र सो प्रमाणपत्रमा गरिएको दस्तखतसमेत फरक पाइएकाले काउन्सिलको पुस २८ मा बसेको बैठकले आवश्यक कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।