ओखलढुंगा / ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मानेभञ्ज्याङ –१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका –१ का १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइराला रहेका छन् ।
मानेभञ्ज्याङ –१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुङ्गाले लागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सञ्जीव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का एकजना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जिपमा ६ जना चढेका थिए ।