धनगढी / धनगढीमा मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना प्रहरी निलम्बनमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । 

OM Sai Pathibhara Hospital

अदालतको अन्तिम फैसला नआउन्जेलसम्म उनीहरूलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

‘अहिले अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ, अदालतको अन्तिम फैसला अनुसार उनीहरू चोरी गरेको ठहरिए सधैंका लागि निलम्बनमा पर्ने छन्,’ उनले भने।

गत माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा लागुऔषध कारोबारीलाई समात्न गएका माल र बुढाले पसलबाट मोबाइल चोरी गरेको सिसिटिभिमा कैद भएको थियो ।  

सिसिटिभी फुटेज हेर्दा प्रहरीले नै मोबाइल चोरी गरेको थाहापाए पछि पसल संचालकले प्रहरीमा उजुरी दिएका थिए ।