काठमाडौं / पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका –६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
नारायणगढ–मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो ।
सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए । झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।