काठमाडौं / काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको हवाइ जहाजको आकाशमा आफैँ ढोका खुलेपछि यात्रुहरू आतिएका थिए ।
पोखरा जाँदै गरेको सो जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि आकाशमै आफैँ ढोका खुलेको हो । प्राविधिक गडबडीले जहाजको आफैँ ढोका खुलेपछि सो जहाज पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिक टोलीले जहाज जाँच गरिरहेका छन् ।
सो जहाजमा रहेका एकजना यात्रुले आकाशमै हवाई जहाजको ढोका खुलेपछि आफूहरूलाई पुनः काठमाडौं विमानस्थलमै फर्काइएको बताए । ‘काठमाडौंबाट उडेको करिब पाँच मिनेट मात्रै भएको थियो, जहाजले उचाइ लिँदै थियो, त्यही बेला यात्रु चढ्ने ढोका आफै खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै पुनः फर्काइयो ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज पुनः काठमाडौं फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको बताए । तर उनले कस्तो खालको प्राविधिक गडबडी हो भन्ने विषयमा केही खुलाएनन् ।
सो जहाजको आज बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो ।