रूपन्देही / जिल्ला अदालत कपिलवस्तुले आठ जनाको हत्याको आरोप लागेका मायादेवी गाउँपालिका –४ का नसिम खान (बादशाह) लाई सफाइ दिएको छ ।
जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले अभियोग दावी नपुगेको भन्दै खान सहित उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो ।
चार जना माओवादी कार्यकर्ता, तीन जना बालबालिका र एक जना कर्मचारीको हत्या आरोपित नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्षअघि काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई कपिलवस्तु ल्याएर मुद्दा चलाइएको थियो ।
मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण बादशाहलाई छाडिएको गुनासो गरे ।
माओवादी जनयुद्धका क्रममा तत्कालीन सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेला माओवादी कार्यकर्ताको हत्या गरेको आरोप लागेको थियो । यस अघि नै उनलाई छुटाउने चलखेल भएको पीडित परिवारको आरोप छ ।