धनगढी / कैलालीमा ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न खोज्ने जनप्रतिनिधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका –४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराई रहेका छन् ।
पक्राउ परेका उनीहरूले बृद्धामाथि भएको बलात्कारको घटनालाई आर्थिक लेनदेनमा मिलाएर ढाकछोप गराएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
गत मंसिर १५ गते घोडाघोडी नगरपालिका –४ की ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको थियो । उनका छोराले सोही दिन प्रहरीमा उजुरी दिन खोज्दा स्थानीय जनप्रतिनिधिलगायतले मिलापत्र गराएका थिए ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पीडकले पीडित पक्षलाई नगद तीन लाख रुपैयाँ दिने सहमति गरेर मिलापत्र गराएको पाइएको छ ।
तर, सहमति बमोजिम पूरै रकम नदिइएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
पीडितका छोराले आरोपीबाट नगद दुई लाख रुपैयाँमात्र बुझेको बताएका छन् ।