झापा / कोरोना भाइरसको नयाँ भेरियन्टमा ओमिक्रोनको संक्रमण बढ्दै गर्दा विगतको तुलनामा अहिले नाकामा सरकार सचेत र पूर्वतयारी सहित देखिएको छ ।

विगतमा ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिने गरेको नाकाको हेल्थ डेस्क भने अहिले कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरियाविरुद्धको खोप सहितको स्वास्थ्य सामग्री सहित व्यवस्थित देखिएको छ । अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । 

OM Sai Pathibhara Hospital

अहिले खोप कार्डले गर्दा आवतजावत सहज भएका कारण नजिकको भारतीय बजार पानीट्याङ्की तथा अन्य बजार दैनिक उपभोग्य सामग्री खरिद गर्न जानेको भीडले पनि नाकामा जोखिम बढेको छ ।

दैनिक नेपाल प्रवेश गर्ने करिब एक हजार मध्ये आधा जति दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालले जानकारी दिएका छन् ।

विद्यार्थीस्वास्थ्यकर्मीहरूले मापदण्ड अपनाउने गरेको तर स्वदेश मै पाउने गरेको दैनिक उपभोग सामाग्री खरिदकर्ताले भने यस विषयमा गरेको लापरवाही खतराजनक हुने समेत डीएसपी दाहालले बताएका छन् ।

माथिल्लो निकायबाट आएको निर्देशन अनुसार स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन र नाकामा दैनिक उपभोग्य सामग्री खरिद गर्नेलाई  कडाइ गर्ने समेत डीएसपी दाहालको भनाइ रहेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले खोप नलगाई नेपाल प्रवेश गरेका नेपाली नागरिकलाई ९ पुसबाट नाकमै खोप लगाइने व्यवस्था गरिएको बताएका छन् । त्यस्तै शंकास्पदलाई नाकामै एन्टिजेन्ट परीक्षणको पनि व्यवस्था गरिएको समेत उनले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालयले विदेशी नागरिकको हकमा ७२ घण्टाको पिसिआर रिर्पोट वा डोज पूरा गरेको खोप कार्ड वा एन्टिजेन्ट रिर्पोट अनिवार्य रहेको जनाएको छ । नेपाली नागरिकको हकमा कुनै कागजात नभए पनि नेपालमै खोप लगाएर एन्टिजेन्ट परीक्षण गरेर पठाइने समेत जनाएको छ ।

एन्टिजेन्ट रिर्पोट पोजेटिभ आए ती व्यक्ति बस्ने सम्बन्धित पालिकासँग समन्वय छुट्टै गाडीमा पठाइने गरेको तिमिल्सिनाले बताएका छन् । त्यसरी जान नसके मेची अस्पताल भद्रपुर लगिने समेत उनले बताएका छन् ।