काठमाडौँ / नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोपमा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।
सरुवाको विषयलाई लिएर यादवलाई धम्क्याएको आरोपमा पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए ।
स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए । तर, पाण्डेले सहयोग नगरेपछि उनलाई एक वर्ष नपुग्दै सरुवा गरेको स्रोतले जनाएको छ ।
२०७८ असार ८ गते पाण्डेको जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएको थियो ।
प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई सिरहाबाट नक्साल तानेर उनको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिमिल्सिनालाई पठाएको छ ।
यादवले सोमबार विज्ञप्ति जारी गरी तत्कालीन एसपी पाण्डेले मादक पदार्थ सेवन गरी आइतबार राति १ः२५ बजे धनगढीमाई नगरपालिका –९ जिरोमाइलस्थित घरमा आएर अपशब्द, गाली गलौज गर्दै गोली हान्ने धम्की दिएको आरोप लगाएका थिए ।