झापा / सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।