काठमाडौँ / महानगरले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो।

OM Sai Pathibhara Hospital

महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन्।

कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेको बताए।

खोप लगाउनका लागि परिचय खुल्ने फोटो सहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ।

खोप कार्यक्रम बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट सेवा लिन सकिने व्यवस्था छ।