काठमाडौं। कारोबार हुने नयाँ साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको भाउ प्रतितोला एक हजार ९०० रुपैयाँले वृद्धि भई दुई लाख ८४ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य फेरि नयाँ उचाइतर्फ उक्लिएको छ।
चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ। शुक्रबारको तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर आइतबार चाँदीको भाउ चार हजार २४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिँदै आएको छ। त्यसको प्रत्यक्ष असर सुनचाँदीको दैनिक कारोबार र मूल्य निर्धारणमा परेको व्यवसायीहरू बताउँछन्।





































