काठमाडौं। संसद्मा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउने उद्देश्यसहित नेकपा (एमाले) ले आइतबार विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसदीय भूमिका, राजनीतिक जिम्मेवारी र प्रभावकारी प्रस्तुतिबारे प्रशिक्षण दिने भएका छन्।
एमालेको संसदीय विभागको आयोजनामा हुने कार्यक्रममा संघीय संसद्का दुवै सदनका सांसदहरू सहभागी हुनेछन्। पार्टी सचिव तथा संसदीय विभाग प्रमुख पद्मा अर्यालका अनुसार संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद्को कार्यप्रणाली, समितिहरूको अधिकार क्षेत्र, विधेयक प्रक्रिया तथा सांसदले प्राथमिकताका साथ उठाउनुपर्ने विषयमा जानकारी गराउनेछन्।
त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टीको नीति, संसदीय अनुशासन र सांसदको जिम्मेवारीबारे प्रशिक्षण दिने कार्यक्रम छ। सांसदहरूले संसद्भित्र पार्टीको धारणा कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने, सम्बन्धित विषयमा पार्टीका विभागसँग कसरी समन्वय गर्ने र नीति निर्माणमा कसरी सक्रिय भूमिका खेल्ने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा पार्टीका विभाग प्रमुख, पूर्व सदस्य तथा विभिन्न क्षेत्रका विषय विज्ञसमेत सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न विषयगत विज्ञहरूको रोस्टर तयार पारिनेछ, जसमार्फत सांसदहरूले आवश्यक पर्दा कानुनी, आर्थिक, प्रशासनिक वा अन्य विषयमा विशेषज्ञ परामर्श लिन सक्ने व्यवस्था गरिनेछ।
एमालेले यस कार्यक्रमलाई संसद्मा आफ्ना सांसदहरूको तयारी, नीति प्रस्तुति र प्रभावकारी हस्तक्षेप क्षमता अभिवृद्धि गर्ने अभियानका रूपमा लिएको जनाएको छ।





































