काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शनिबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद्का अनुसार आज विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
पछिल्लो एक घण्टामा नवलपरासी ९परासी० क्षेत्रमा २७।४ मिलिमिटर र कञ्चनपुरमा २५।८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसहित अन्य प्रदेशका थोरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकामा भने दिनभर लगातार पानी नपरी केहीबेर वर्षा हुने र फेरि रोकिने क्रम चलिरहने मौसमविद् डेभिड ढकालले बताएका छन्। उनका अनुसार उपत्यकामा खण्डित रूपमा वर्षा हुने सम्भावना रहे पनि अत्यधिक वर्षाको जोखिम भने कम छ।
यद्यपि, भारी वर्षा हुने क्षेत्रका नदी, खोला र पहाडी भेगमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। विशेषगरी यात्रा, कृषि तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले विभागको आधिकारिक मौसम बुलेटिन हेरेर मात्रै योजना बनाउन पनि सुझाव दिइएको छ।




































