काठमाडौं। प्रदेश सरकार गठनका लागि नयाँ राजनीतिक समीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी शक्तिसँग कुनै पनि प्रकारको राजनीतिक साँठगाँठ नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। उनले सत्ता समीकरणबारे निर्णय गर्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाएर संस्थागत छलफल गर्नुपर्नेमा जोड दिएका छन्।


आइतबार जारी वक्तव्यमा खनालले अहिलेको जटिल राजनीतिक परिस्थितिमा हतारमा सत्ता साझेदारीतर्फ नलागी पार्टीको क्रान्तिकारी उद्देश्य, वर्गीय दृष्टिकोण र दीर्घकालीन हितलाई केन्द्रमा राखेर मात्रै नीति तय गर्नुपर्ने बताएका छन्। केही नेताको कुर्सीमोह र व्यक्तिगत स्वार्थका कारण पार्टीको प्रतिष्ठामा आँच पुग्ने जोखिम रहेको भन्दै उनले त्यस्तो प्रवृत्तिलाई रोक्नुपर्ने धारणा व्यक्त गरेका छन्।


खनालले अहिलेको समय दक्षिणपन्थीसँग सम्झौता गर्ने नभई कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र रूपान्तरण गर्ने अवसर भएको उल्लेख गरेका छन्। वामपन्थी शक्तिहरूबीच आपसी अहंकार, पूर्वाग्रह र गुटगत स्वार्थ त्यागेर वैचारिक एकताको पहल गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन्।


वक्तव्यमा उनले बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि जनताले अपेक्षा गरेका राष्ट्रियता, जनजीविका र सुशासनका मुद्दामा पर्याप्त प्रगति हुन नसकेको टिप्पणीसमेत गरेका छन्। विदेशी हस्तक्षेप, आर्थिक चुनौती र जनजीवनका समस्या बढिरहेका बेला देशभक्त, लोकतान्त्रिक, वामपन्थी र प्रगतिशील शक्तिहरूबीच साझा पहल आवश्यक रहेको उनको भनाइ छ।


साथै, विगतमा दक्षिणपन्थी शक्तिसँग नीतिविहीन सहकार्य गर्दा कम्युनिस्ट आन्दोलन कमजोर बनेको उल्लेख गर्दै खनालले अहिले फेरि त्यही गल्ती दोहोरिए पार्टीको विश्वसनीयता र प्रतिष्ठामा थप क्षति पुग्ने चेतावनी दिएका छन्।