काठमाडौं। अविरल वर्षापछि खोटाङमा उर्लिएका खहरे खोलाले दुई जनाको ज्यान लिएको छ। शनिबार साँझ आएको बाढीमा परी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो।

प्रहरीका अनुसार, आफन्तको घरबाट फर्किने क्रममा छाँगे खोलामा आएको बाढीले बगाएकी शान्ता राई राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले खोजी गरेका थिए। खोजतलासका क्रममा उनको शव खोलामा फेला परेको नेर्पाका वडाध्यक्ष माधव राईले जानकारी दिए।

यस्तै, केपिलासगढी गाउँपालिका–४ स्थित गाइखुरे खोल्सीमा आएको बाढीले बगाएका पर्शुराम परियारको शव पनि खोजीका क्रममा घटनास्थलबाट करिब सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

दुवै शव पोस्टमार्टमका लागि पठाइएको र आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै खोलानाला तथा खहरे खोलामा पानीको बहाव बढेकाले उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।