गलेश्वर / नेपालमा पहिलो पटक तातो पानीबाट उपचार गर्ने अस्पताल निर्माण हुने भएको छ । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा अस्पताल निर्माण हुने भएको हो । 

प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका –४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

शाक्यका अनुसार तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योगा थेरापी, फिजियो थेरापी, मसाज थेरापी र डाइ थेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको हो । 

उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष सङ्घीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख रुपैयाँ गरी एक करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ ।

अस्पताल सञ्चालनमा आएपछि जल चिकित्सा, योगा थेरापी, अकुपञ्चर, डाइ थेरापी लगायत प्राकृतिक विधिबाट तातोपानीको प्रयोग गरेर बिरामीको उपचार गरिने शाक्यले बताए ।

पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठुला गरी एक दर्जन हाराहारीमा तातोपानीका कुण्ड छन् ।