ताप्लेजुङ / दैनिक जसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमै व्यस्त भइरहने, जो कसैलाई भेटे मुसुक्कै हाँसेर बोलिदिने, बोलीमा भएको मिठासले जो कोही पनि मोहित हुन्छन् डाक्टर पुछारे माइलादेखि । भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन् । तिनै औषधि पानीमा घोलेर गाउँका बिरामीलाई घुटुक्कै पिलाउँछन् ।

लामो समयदेखि विभिन्न रोगले थला परेका, अस्पतालले निको पार्न नसकेका बिरामी औषधिको सेवनपछि एकाएक निको हुन्छन् । त्यही भएर होला आजकल गाउँलेहरुले डाक्टर भनेर बोलाउँछन् । पहिलेपहिले पुछारे माइला भनेर चिनिने ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका फुर्साङ शेर्पालाई अहिले डाक्टर पुछारे माइला भनेरै बोलाउने गरिन्छ । 

OM Sai Pathibhara Hospital

विसं २०२५ सालमा गाउँको सामान्य परिवारमा जन्मिनुभएका शेर्पाले लेखपढ गर्न पाउनु भएन तर समय परिवेशसँगै अक्षर चिन्ने रहर चल्दै गयो । “बूढेसकालमा राम्ररी अक्षर चिन्न र पढ्न त के हुन्थ्यो र तैपनि नातिनातिनाको सहायताले आफ्नो सही गर्न र मोबाइलका नम्बर चिन्न सक्नेसम्म भएँ, यतिकैमा चित्त बुझ्यो”, शेर्पा भन्छन् । 

आजकल शरीरका विभिन्न भाग मर्किँदा, नसाको रोगले दुखाइ हुँदा, निमोनिया हुँदा, छारे रोगले थलिँदा, महिनावारी घटबढ हुँदा सबैले शेर्पालाई गुहार्ने गरेका छन् । अस्पतालबाट फिर्ता भएका गाउँका कतिपय बिरामीको सफल उपचारपछि उहाँलाई घरमा बस्ने तथा आफ्नो काम गर्ने त्यति फुर्सद हुँदैन । 

बिहान सबेरै उठेर जङ्गलबाट भेला गरेका जडीबुटी पिस्ने र प्लाष्टिक साथै बट्टाबट्टीमा भर्ने शेर्पाको पहिलो काम हुन्छ । त्यसपछि वस्तु बाख्रालाई घाँस पानी दिने काम हुन्छ । घरको समेत काम सकिएपछि भिर्नी झोलामा औषधि बोकेर शेर्पा नजिकदेखि टाढाटाढा सम्मका गाउँमा निस्किन्छन् । साँझ परेपछि घरमा फर्किन्छन् । 

उपचार गरेवापत उनले तोकेरै रकम लिने गरेका छैनन् । उपचार भएपछि कतिले दिन्छन्, कतिले दिँदैनन् । “म कसैलाई यति उति देऊ भनेर भन्दिनँ तर हुनेले कम दिन्छन्, नहुनेले अलि धेरै दिन खोज्छन्, त्यो फिर्ता गर्ने गर्छु”, शेर्पा भन्छन् । यसरी जडीबुटीको मिसावट गरी सामान्य प्रकारका बिरामीलाई निको पार्ने सीप र ज्ञान अरु कसैले नसिकाएको तर विभिन्न अनुभव र अनुसन्धानबाट पत्ता लगाएको उनको भनाइ छ । 

“घरमा कान्छो छोरो जन्मिएको सात महिनादेखि छारे रोगबाट पीडित थियो, धेरै वर्षसम्म विभिन्न उपचार गरेँ, निको भएन, आफैँले विभिन्न अनुमान लाउँदै जडीबुटी खोज्न थालेँ, खुवाउन थालेँ, त्यो औषधिले पछि उसलाई धेरै सुधार आएको थियो तर नौ वर्षको उमेरमै उसको निधन भयो, समयमै औषधि चिनेको भए सायद छोरोले साथ छोड्दैनथ्यो होला, अहिले त्यस्तै बिरामीहरुलाई निको पार्ने औषधि मसँग छ, गाउँका धेरै बिरामी निको भए”, उनले भने । नभन्दै गाउँघरका धेरै बिरामी उहाँकै जडीबुटीको सेवनले निको भएका छन् । “मलाई ग्याष्ट्रिकको समस्या थियो, नास परेर हो या किन खाना रुच्दैनथ्यो, दिनानुदिन शरीरको तौल घट्दै गएको थियो, उनको औषधि सेवनपछि पूर्णरूपमा निको भएँ”, सान्थाक्राका निमा शेर्पाले भने । 

यस्तै मेरिङ्देनका रोदन विकले समेत आफ्नी छोरीलाई जडीबुटीकै प्रयोगबाट बचाएकोमा खुसी व्यक्त गरे । “झण्डै ३६ घण्टा सम्म बेहोस बनेकी छोरीलाई दुई पटक जडीबुटीजन्य औषधी खुवाएपछि होस खुलेको थियो, फेरि त्यस्तो अवस्था दोहोरिएको छैन”, विकले भने । यसरी जटिल अवस्थामा पुगेका कतिपय बिरामीको औषधि उपचारपछि शेर्पालाई टाढाटाढाबाट समेत उपचारका लागि बोलाउने गरिएको छ । 

गाउँघरमा पाइने विभिन्न जडीबुटीले राम्रो काम गर्ने गरेको र थप जडीबुटीको समेत पहिचान हुँदै गएको शेर्पाले बताए । कतिपय जडीबुटीको प्रभाव निक्कै राम्रो देखिएकाले यसलाई राज्यले समेत खोज अनुसन्धान गरेर प्रशोधन गर्न सके सबैलाई फाइदा पुग्ने शेर्पाको भनाइ छ ।