बुटवल / बुटवल उपमहानगरपालिका –७ का वडासदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्सभित्रै गयराति मृत्यु भएको छ । नेकपा एमालेको समेत वडा समिति अध्यक्ष रहेका ४४ वर्षीय थापा सात दिनअघि कोरोना पोजिटिभ भएपछि स्थानीय अस्पतालमा बेड अभावका कारण होमआइसोलेसनमा थिए ।
‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि उनले घरमै अक्सिजन लिएर आएका थिए । हिजो एक्कासी समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू, भेन्टिलेटर उपलब्ध नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै नवीनको निधन भएको सोही वडाका युवा नेता विकासजंग बस्नेतले जानकारी दिए ।
यस्तै, समयमै उपचार नपाएका कारण नवीनको मृत्यु भएको वडाध्यक्ष कमलप्रताप थापाले दुःखेसो गरे । दिवंगत वडासदस्य नवीनका श्रीमती र एक छोरी छन् ।