बिर्तामोड(एएनआई) कोरोनाको दोस्रो लहर आएसँगै भारमा दैनिक संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहेको छ । तर, अझै नियन्त्रण संकेत देखिएको छैन । तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । 

कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । 

OM Sai Pathibhara Hospital

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार ४१८ जना सङ्क्रमणमुक्त भएका छन् । 

भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ । 

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । 

भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ । 

कोरोनाभाइरसबाट प्रभावित देशहरूको सूचीमा शीर्ष स्थानमा रहेको अमेरिकामा ३ करोड २२ लाखभन्दा बढी संक्रमित छन्  । जहाँ ५ लाख ७५ हजारभन्दा बढीको भाइरसले मृत्यु भइसकेको छ ।

महामारीका कारण भारतका अस्पतालहरूमा बेड तथा अक्सिजनको चरम अभाव देखिएको छ । जसका कारण बिरामीहरूको उपचार नपाएरै मृत्यु भएको छ ।

महामारीका कारण अभूतपूर्व संकटमा परेको भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको दाहसंस्कार गर्नसमेत कठिनाइ हुन थालेको छ । पछिल्ला केही दिनहरूमा अन्तिम संस्कार गर्ने स्थानमा पनि ठूलो चाप बढेको छ । केही मसानघाटहरू चौबिसै घण्टा सञ्चालनमा छन् ।

मसानघाटका कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गर्न थालेको जनाएका छन् । तर दाहसंस्कार गर्न पालो नपाएपछि खुला स्थानमा शवहरू जलाउने व्यवस्था गर्न थालिएको छ । राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।