कबिता :  चौताराको आवाज

देवेन्द्र किशोर  


चौतारीमा बसेका 

बूढाबाभन्छन्,

"छोरा, देश बिग्रियो।"

विद्यालयको गेटमा अभिभावक भन्छन्,

"शुल्क फेरि बढ्यो।"

अस्पतालको लाइनमा आमा भन्छिन्,

"ओखति महँगो भो।"


साउने खेतको 

आली भन्छ,

"रोपाइँ गर्ने हात

 कहाँ गए?"

रित्तिँदो गाउँको

 धुरी भन्छ,

"धुवाँभन्दा सम्झना

 धेरै उठ्छ।"

चिया पसलको

 गफमा

 किसान भन्छ,

"मेहनतको मूल्य पाइएन।"

वैदेशिक बाटो 

समातेको युवा भन्छ,

"सपना खोज्दै घर छोड्नुपर्‍यो।"

बजारको दोबाटोमा मजदुर भन्छ,

"दालभात जुटाउनै मुस्किल भो।"

जनताको मनमा एउटा प्रश्न गुञ्जिन्छ,

"सुन्ने आखिर को छ?"

तर माटोको सुगन्ध 

अझै भन्छ,

"फर्क, यहीँ भविष्य रोप।"

श्रमलाई सम्मान, सत्यलाई आधार बनाऔँ,

चौतारामा 

फेरि हाँसो र बहस फर्काऔँ।

रित्तिँदो गाउँ 

फेरि जाँगरले भरिनेछ,

पर्ख,

जब युवाको सपना

आफ्नै माटोसँग जोडिनेछ।

भद्रपुर -८, झापा