पर्सा / वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन  कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनले नगवा निवासी महिलामा निमोनिया लगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गराइएको र उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो भने छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरी सोही पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको बताए । 

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाट समेत ग्रसित रहेका जितपुर सिमरा निवासी पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख १० गते अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको डा दासले जानकारी दिए ।  यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको  जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ ।