बिर्तामोड / कोभिड–१९ को दोस्रो लहरको नेपालमा सङ्क्रमण दर उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नेपालमा २२८ प्रतिशतका दरले संक्रमण फैलिरहेको जनाएको छ ।  

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रमक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यो हप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको बताएकी छन् । उनले यो साताको संक्रमण दर भारतको जस्तै भएको बताएकी छन् ।

OM Sai Pathibhara Hospital

गत वर्ष नेपालको अवस्था राम्रो नै रहेको भएपनि यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै देखिएको उनले बताएकी छन् । पछिल्लो चार हप्ता यता नेपालमा भारतमा जस्तै छिटो छिटो बढ्दै गएको छ उनले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै भनिन् – अबका दिन राम्रा छैनन् , सवैले अब स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने भारतको भन्दा खराब स्थिती अनि नियति हामीले भोग्नु पर्ने हुन सक्छ ।

पछिल्ला दिनमा नेपालमा भारतभन्दा दु्त गतिमा सङ्क्रमण दर बढिरहेको उनले जानकारी समेत गराएकी छन् । भारतमा जस्तै मृत्युदर पनि बढ्दो क्रममा रहेको उनको भनाई छ । नेपाल अहिले सङ्क्रमण सार्नेमा संसारभरमा नै सबै भन्दा उच्च बिन्दुमा पुगेको समेत उनले बताएकी छन् । हरेक एक जनाले कम्तीमा दुई जनामा संक्रमण फैलाइरहेको पछिल्लो अवस्थामा सुधार ल्याउन नसक्ने हो भने भारत भन्दा नेपालले खराब स्थिति भोग्नु पर्ने उनले चेतावनी समेत दिएकी छन् ।

उनले यही रफ्तारमा सङ्क्रमण फैलिने हो भने एक महिनामा १ लाख ९३ जना सङ्क्रमित पुग्न सक्ने बताएकी छन् ।उनले भनिन् “एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, संक्रमण यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या बराबर पुग्ने छ”,।