बिर्तामोड / नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ११९ जना सङ्क्रमित भएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४९८ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उनका अनुसार काठमाडौंमा सबैभन्दा बढी एक हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७८६ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ९० जनामा सङ्क्रमण पोजिटिभ पाइएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७७ हजार ५७३ पुगेको छ । मन्त्रालयले हाल १९ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । ६९ जना हाल क्वारेन्टिनमा छन् । एक हजार ५९४ जना संस्थागत् आइसोलेशनमा र १७ हजार ७८८ जना होम आइसोलेशनमा छन् ।

त्यसै गरी नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको जनाएको छ।