बागलुङ / जिल्लाको बडिगाड गाउँपालिका–२ खर्बाङमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।  जिल्लामा आयुर्वेद स्वास्थ्यको पहुँच विस्तार गर्ने योजना अनुसार दुई स्थानमा सो सेवा स्थापना गरिएको हो । 

जिल्लाका १० पालिकामध्ये ६ पालिकामा आयुर्वेद औषधालय नभएका कारण सरकारको लक्ष्य अनुसार गाउँमा सेवा विस्तार गर्न थालिएको हो । 

OM Sai Pathibhara Hospital

सरकारले नेपालमा २०० बढी आयुर्वेद सेवा दिने गरी नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने निर्णय अनुसार बडिगाडमा बुधबारदेखि नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा. सरोज रायले बताए ।

सबै पालिकामा आयुर्वेद सेवा पु¥याउने अभियान अन्तर्गत तत्काल दुई पालिकामा आयुर्वेद सेवा दिनेगरी प्रकिया अगाडि बढाइएकोमा बडिगाडमा सेवा शुरु भयो भने ताराखोलामा केही दिनमै सेवा शुरु हुनेछ । 

स्थानीय तहको साझेदारीमा सञ्चालन हुने नागरिक आरोग्य केन्द्र स्थापनाका लागि भौतिक पूर्वाधारको जिम्मा स्थानीय तहले लिनुपर्ने हुन्छ । भौतिक पूर्वाधार निर्माणलगायतका अन्य कुरामा सहयोग गर्ने पालिकाको प्रतिबद्धता अनुसार पालिकामा नागरिक आराग्य सेवा केन्द्र स्थापना गरिएको डा. रायको भनाइ छ ।

जिल्लाका दश पालिकामध्ये तमानखोला, बडिगाड, ताराखोला, निसीखोला, बरेङ गाउँपालिका र गलकोट नगरपालिकामा आयुर्वेद स्वास्थ्यको पहुँच छैन । जनशक्ति र औषधिमा सरकारले सहयोग गर्ने र अन्य व्यवस्थापन भने स्थानीय पालिकाले गर्नुपर्ने प्रावधान रहेको छ । एक जना आयुर्वेद स्वास्थ्यकर्मी तथा एक जना कार्यालय सहयोगीको दरबन्दी रहनेछ । 

बुधबार नागरिक सेवा केन्द्रको उद्घाटन बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले गर्नुभएको हो ।  सोही अवसर पारेर एक दिने वृहत निःशुल्क आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर खर्बाङमा गरिएको थियो । शिविरमा १५७ महिला तथा ७१ पुरुष गरी २२८  बिरामीले सेवा लिएका थिए ।

शिविरमा धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डा रायलगायतले सेवा दिएका थिए । अहिले जिल्ला धौलागिरि आयुर्वेद अस्पतालसहित बागलुङ नगरपालिकाको बलेवा, काठेखोलाको बिहुँ, ढोरपाटनको बुर्तिावाङ र जैमिनीको २ स्थानमा आयुर्वेद सेवा केन्द्र रहेका छन् ।