कविता: शेरबहादुर आफ्नो देश फर्किए
देवेन्द्र के. ढुङगाना
शेरबहादुर
आफ्नो देश फर्किए,
विदेशमा रहे पनि
मन नेपालमै थियो।
जनताको पीडा उनका मुटुभित्र
धड्किरहेको थियो,
राष्ट्रको चिन्ता
निद्राभन्दा पनि
ठूलो थियो।
उनले भने—
राज्यसँग प्रतिशोध नगर,
सत्तालाई बदलाको हतियार नबनाऊ।
लोकतन्त्रको फूल
घृणाले फुल्दैन,
समानताको माटोमै भविष्य उम्रिन्छ।
जनादेशलाई
सम्मान गर,
प्रतिपक्षलाई
शत्रु होइन,
सहयात्री ठान।
संवादका ढोका
कहिल्यै बन्द नगर,
किनकि मौनताले लोकतन्त्र मर्छ।
देश अझै संघर्षको
मोडमा उभिएको छ,
युवाका सपना
सीमापार -
भौतारिएका छन्।
किसानको पसिना
सुक्दै गएको छ,
श्रमिकका हात
न्याय खोज्दै छन्।
सत्ताको सिंहासन
स्थायी हुँदैन,
जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।
दमनले इतिहास
जित्न सक्दैन,
परिवर्तन जनताको इच्छाबाट जन्मिन्छ।
आऊ, रिसलाई होइन विवेकलाई रोजौं,
प्रतिशोधलाई होइन सहकार्यलाई अँगालौं।
समृद्ध नेपालको यात्रा एकताबाट सुरु हुन्छ,
विकासको बाटो जनताबाट खुल्छ।
फर्किएका पाइला- व्यक्तिका पाइला होइनन्,
लोकतन्त्रलाई सम्झाउने एउटा आवाज हो।
नेपाल सबैको
साझा घर हो,
यसलाई प्रेम, न्याय र समानताले सजाऔं।
शेरबहादुर फर्किए,
सन्देश पनि फर्कियो—
"देश बनाउने बाटो प्रतिशोध होइन,
परिवर्तन हो।"
भाद्रपुर-८,झापा




































