धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
आफ्नै दलभित्र मन्त्री चयनको विषयमा सहमति जुट्न नसकेपछि उनले मन्त्रिपरिषद् विस्तारभन्दा पहिले विश्वासको मत लिने निर्णय गरेका हुन्। यसअघि मंगलबार नै विश्वासको मत लिने तयारी गरिए पनि प्रदेश सभा बैठक एक दिन पछि सारिएको छ। मंगलबार नेकपाको संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी रहेको बताइएको छ।
यस विषयमा नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तथा मुख्यमन्त्री भट्टबीच पनि छलफल भएको थियो। मुख्यमन्त्री नियुक्त भएकै दिन उनले नेकपाका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए। तर दलभित्र मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेकपाको भागमा परेका अन्य मन्त्रालय अझै नेतृत्वविहीन छन्।
नेकपाभित्र रहेका साविकका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका समूहले सरकारमा सम्मानजनक प्रतिनिधित्वको माग गर्दै आएका छन्। तीनै पक्षले प्रभावशाली मन्त्रालयमा दाबी गरेपछि मन्त्री चयन प्रक्रिया पेचिलो बनेको हो। नयाँ सत्ता समीकरणअनुसार नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ।
एमालेले आफ्नो भागमा परेका अर्थ, सामाजिक विकास तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीसहित एक राज्यमन्त्री नियुक्त गरिसकेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख र एक निलम्बित सदस्यबाहेक नेकपासँग ३२ सांसद छन्। बहुमत रहे पनि दलभित्रकै शक्ति सन्तुलन मिलाउन नसक्दा मन्त्री नियुक्ति लम्बिएको स्रोतको भनाइ छ।
यता, लामो समयदेखि बजेट अभावको सामना गरिरहेको प्रदेशमा सरकारलाई पूर्णता दिन र विकासका कामलाई गति दिन मुख्यमन्त्री भट्टमाथि चाँडै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने दबाब बढ्दै गएको छ।






































