मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाले एक न्यायिक परिवारलाई शोकमा डुबाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडूको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार बिहान करिब ८ बजे भीमफेदी गाउँपालिका–६ जुरीखेतमा वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो।

गाडीमा वीरगन्जस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए। दुर्घटनामा लक्ष्मी बडूका श्रीमान् तथा वीरगन्ज इजलासका रजिस्ट्रार तारादत्त बडूसहित अन्य यात्रु पनि घाइते भएका छन्।

लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर छाउनी अस्पतालमा उपचार गराइएको थियो। तर, उपचारकै क्रममा बिहान साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि न्यायाधीश डाँगी, रजिस्ट्रारकी श्रीमती लक्ष्मी, उनका छोरा रितेन्द्र र छोरी रितालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। अन्य घाइतेको उपचार भने जारी छ।

रजिस्ट्रार तारादत्त बडू र चालक छुनिलाल चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। गाडी सडकबाट अनियन्त्रित भएर करिब ५० मिटर तल खसेको प्रारम्भिक विवरण छ।

एकै दुर्घटनाले न्यायिक क्षेत्रसँग जोडिएको परिवारमा ठूलो बज्रपात परेको छ भने घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।