काठमाडौं । खाना पकाउने ग्यासको अभावले सर्वसाधारणसँगै विद्यार्थीको दैनिकीसमेत प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ। काठमाडौंको घण्टाघर अगाडि त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।


ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने र समयमा ग्यास नपाउँदा खाना पकाउनसमेत समस्या भइरहेको अवस्थामा विद्यार्थीहरूले सरकारको आपूर्ति व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले ग्यासको समस्या केवल घरायसी समस्या नभई विद्यार्थीको दैनिक जीवन र पठनपाठनसँग समेत जोडिएको बताएका छन्।


प्रदर्शनमा विद्यार्थीहरूले ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार कति सहने र ?’, ‘किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइनमा बस्ने रु’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरे। उनीहरूले ग्यास अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन्।


रित्तो सिलिन्डर बोकेर सडकमा उत्रिएका विद्यार्थीको प्रदर्शनले बजारमा ग्यासको सहज आपूर्ति हुन नसकेको विषयलाई फेरि सार्वजनिक बहसमा ल्याएको छ। सरकारले अभाव समाधान भएको दाबी गरिरहे पनि उपभोक्ताले भने अझै सहज रूपमा ग्यास पाउन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।


विद्यार्थीहरूको प्रश्न स्पष्ट छ-पढाइ र भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने युवाहरू दैनिक उपभोग्य वस्तुको खोजीमा लाइन बस्नुपर्ने अवस्था कहिलेसम्म रहनेरु उनीहरूले तत्काल आपूर्ति सहज बनाउन र ग्यास अभावको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्।