बिर्तामोड / झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३ सय ५२ पुगेको छ ।

OM Sai Pathibhara Hospital

यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४ सय ५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले मात्र खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका चार हजार ७ सय ४९ ले, गौरादह नगरपालिकाका चार हजार ६ सय ५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार ७७३ ले, कनकाई नगरपालिकाका तीन हजार ४९९ ले, कमल गाउँपालिकाका तीन हजार २४८ ले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८ सय ५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७ सय २३ ले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१ ले, कचनकबल गाउँपालिकाका दुई हजार १२३ ले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८२३ ले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७ सय ९ जनाले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले उक्त खोप लगाइसकेका छन् ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए ।