काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र आकांक्षा लुकेको बताएका छन् ।
राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।
‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन, केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ ।, ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।
उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।
उनले जनताको सपना पूरा गर्नका लागि सबैले हातेमालो गर्नुपर्छ। नेपाली जनताको पक्ष आफ्नो नेता कार्यकर्ताले ज्यान दिएका थिए। नेपाली जनताको चाहाना पूरा भएको छैन’उनले भने, ‘मृत्युको नजिक नपुगेको कम्युनिस्ट नेता पनि छैनन्। सहिद परिवारलाई विश्वास दिलाउनका लागि बलिदान दिन तयार छौँ। तर, हामी हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ।’
कम्युनिस्ट आन्दोलनमा लागेर ज्यान गुमाएका, घाइते भएका, अपाङ्गता भएकाहरुलाई सम्झनुपर्ने उनले बताए। नेपाली जनताले चाहेअनुसारको अहिलेसम्म कुनै काम नभएको उनले सुनाए।