बिर्तामोड / कम्युनिष्ट आन्दोलनमा अठचालीस वर्षअघि पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो ।
घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी तथा दाहाल साविक चारपाने र राजवंशी ज्यामिरगढीका बासिन्दा थिए। तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीको झापास्थित ‘मेची– कोशी कोअर्डिनेशन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो ।
मोर्चामा संलग्न रहेको आरोपमा पक्राउ परी कारागार लगिएका पाँच योद्धालाई झापाको चन्द्रगढीबाट इलामको कारागार सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा लगेर हत्या गरिएको थियो ।
सो घटनाको सम्झनामा प्रत्येक वर्ष फागुन २१ गते तत्कालीन नेकपा(एमाले) र नेकपा(माले) ले छुटृा–छुटृै श्रद्धाञ्जलिसभा आयोजना गर्दै आएका थिए । यस वर्ष भने नेपालका दुवै समुहले सम्झनामा विविध कार्यक्रम गर्ने भएका छन् ।
सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यहाँ सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमूना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ ।
पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै सङ्ख्याका पाँच वटा रुखहरु सँगै जोडिएर हुृर्केका छन् भने घटनास्थललाई शहीद स्मारकका नाममा संरक्षण गरिएको छ ।