बिर्तामोड / काठमाडौंमा फेरि बर्ड फ्लु पुष्टि भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-१ साङ्लामा कुखुरामा बर्ड फ्लु पुष्टि भएको सरकारी अनुगमन टोलिले जनाएको छ ।

बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको हो । विक्रम गौतम र कमल गौतमको फार्मका ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको हो । फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १ हजार ४ सय ५० किलो दाना पनि नष्ट गरिएको छ ।

अनुगमन टोलीले नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला र फार्ममा रहेको ७ सय ५० किलो दाना नष्ट गरेका छन् । सम्झना ठकुरी तिवारीले पालेका २ हजार ७६ वटा ब्रोइलर र १ हजार ७ वटा लोकल कुखुरा तथा शान्ता खनालले पालेका १०० लोकल कुखुरा र २ वटा टर्की पनि मारेर खाल्डोमा पुरिएको छ ।

तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेका अनुसार यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको हो ।