काठमाडौं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका हुन् ।


OM Sai Pathibhara Hospital

तीमध्ये प्रदेश नं. १ मा २४ हजार दुई सय २४, प्रदेश नं. २ मा २५ हजार छ सय ३७, वाग्मती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नौ सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जनाले लगाएका छन् ।


मन्त्रालयले गत माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।


नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । 


भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।